काठमाण्डौ – बिचौलियासँग सम्पर्क र साँठगाँठ गरेको आरोप लागेका न्यायाधीशहरुको बारेमा छलफल गर्न सर्वोच्च अदालतको फूलकोर्ट अर्थात सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक आज पनि बस्दैछ ।
गएको शुक्रबार डाकिएको फूलकोर्टको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको अनि न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको विषयमा न्यायाधीशहरूले प्रश्न गरेका थिए ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अस्ति शनिबार बसेको बैठकले अदालतमा देखिएका विकृति र विवाद समाधानका लागि संसद्बाट निकास खोज्न संसदीय दलको सचिवालयलाई निर्देशन दिइसकेको अवस्थामा आज फेरि सर्वोच्चको फूलकोर्ट बैठक बस्न लागेको हो ।
शुक्रबारको बैठकमा सहभागी कतिपय न्यायाधीशहरूले उच्चस्तरीय आन्तरिक छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन उपयुक्त हुने सुझाव दिएका थिए ।
बिचौलिया आरोपित सापकोटासँग न्यायाधीशले मुद्दाका सन्दर्भमा भेटघाट गरेको विषय सार्वजनिक भएपछि अहिले संसद्, न्यायालय, सत्तारुढ रास्वपासहितका राजनीतिक दल, नागरिक समाज, नेपाल बारलगायत क्षेत्र तरंगीत छ ।

