रुपन्देहीमा पाँच लाखका पटका बरामद,चार जना नियन्त्रणमा

रुपन्देही, असोज २३। रुपन्देहीको सैनामैना नगरपालिका–४, रन्यौराबाट प्रहरीले करिब पाँच लाख रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका बरामद गरेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रल्हाद केसीको कमान्डमा खटिएको प्रहरी टोलीले बिहीबार राति करिब १ बजे मुर्गिया–लुम्बिनी सडकखण्डमा चेकजाँच गर्ने क्रममा पटका बरामद गरेको हो।

प्रहरीका अनुसार कोटहीमाई गाउँपालिका–५ निवासी २५ वर्षीय धर्मराज यादवले चलाएको बा २१ च २२४९ नम्बरको पिकअप जिप जाँच गर्दा नौवटा बोरामा प्याक गरिएका विभिन्न प्रकारका पटका फेला परेका थिए।

नियन्त्रणमा लिइएकामा चालक यादवसहित कोटहीमाई गाउँपालिका–५ का १८ वर्षीय सुशील यादव तथा सम्मरीमाई गाउँपालिका–७ का ३२ वर्षीय अक्लेश मौर्या र १९ वर्षीय सन्तोष कुर्मी रहेका छन्।

प्रहरीले पटका र पिकअप जिपसहित चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीको निर्देशनमा चाडपर्वलक्षित सुरक्षा योजना लागू गरी प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *