गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो गोली, २१० किलो गाँजासहित पाँच पक्राउ

सुनसरीः सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले हवाई फायर गरेर करिब २१० किलो गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी पाँचै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा फेला परेको थियो। पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।

त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेल पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार रामसागर बा.१ च ५०३८ नम्बरका जिप चालक हुन् भने राजकुमार को.१ च ८१८२ नम्बरका जिपका चालक हुन्। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *