काठमाण्डौ – अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गका विभिन्न ठाउँमा पहिरो तथा लेदो पन्छाएपछि हिजो बेलुकादेखि गाडी सञ्चालनमा आएको छ ।
शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण काभ्रेको चौकीडाँडादेखि नेपाल थोकसम्मका विभिन्न ठाउँमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएपछि अस्ति शनिबार बिहानदेखि यातायात आवागमन अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार हिजो बिहानदेखि डोजरको सहायताले पहिरो र लेदो पन्छाउन शुरु गरिएको थियो । रोशी गाउँपालिका–९ पिन्थलीमा खहरे खोलाले बगाएर ल्याएको ढुङ्गा र माटोसहितको लेदो तथा वडा नं ८ गिम्दीबेँसीमा खसेको पहिरो हटाएपछि राजमार्गमा फेरि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा क्षति पुगेकाले सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । यस्तै वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि परेको ठूलो वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा हिजो बिहानैदेखि अवरुद्ध भएको थियो ।

