काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभरको मौसम आज सफा छ । आज दिनभर नै मौसम घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार आज र भोलि दिउँसोसम्म देशभरको मौसम मुख्यतया सफा रहनेछ ।
भोलि बेलुकी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक/ दुई ठाउँमा हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
पर्सि बुधवार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबारदेखि भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएर बिहीवारदेखि आइतबारसम्म वर्षा हुने सम्भावना रहेको मौसमविदहरुको भनाइ छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भूभागमा वर्षाको बढी प्रभाव पर्ने देखिएको छ । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, कास्की, लमजुङ, गोरखा, म्याग्दी र बागलुङलगायत पहाडी तथा हिमाली क्षेत्रमा अत्यधीक वर्षा र हिमपातको बढी जोखिम रहेको छ । मनसुनमा भिजेर नसुकेको जमिनमा बाढी, पहिरो र हिमपहिरोको जोखिम रहने विज्ञहरूले बताएका छन् ।
अहिले धान काट्ने र पर्वतारोहणको समय भएकाले किसान तथा पर्यटकहरूलाई विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । धान खेतमै भिजेर नष्ट हुनबाट बचाउन किसानलाई आज भोलिमै धान काटेर सुरक्षित ठाउँमा थन्क्याउन उनीहरुको सुझाव छ ।
साथै, बिहीवारदेखि आइतवारसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रामा जाने योजना बनाएका पर्यटकहरूलाई यात्रा स्थगित गर्न वा सुरक्षित ठाउँमा रहन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।

