काठमाण्डौ – त्रिशूली नदीको बाढीले धादिङ फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुमा रहेको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ ।
दशैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–३ त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा एक पटकमा एउटा मात्रै दुईपाङ्गे साधन आवतजावत गराउने सूचना टाँसिएको छ । तर, एकै पटक धेरै मोटरसाइकल र स्कुटर प्रवेश गर्दा पैदलयात्रुले पनि साँघुरो ठाउँबाट ओहोरदोहोर गर्नुपरेको छ ।
स्थानिय समाजसेवी शिवराज सापकोटाका अनुसार झोलुङ्गे पुलमा चाप बढ्दा सुरक्षा जोखिम बढेको छ । पुलभित्र मोटरसाइकल प्रवेश गरेपछि पैदलयात्रुलाई दोहोरो हिँड्न पर्याप्त ठाउँ नहुँदा एकअर्कालाई छलेर पार गर्नुपर्ने अवस्था छ ।
धादिङबाट चितवन फर्कंदै गरेका मोटरसाइकल चालक अभिषेक अधिकारीले पुलको सुरक्षाबारे चिन्ता भए पनि बाध्यताले प्रयोग गर्नुपरेको बताउनुभयो । दशैँ सकेर काठमाण्डौ, पोखरा र चितवन पुग्नुपर्ने यात्रुको सङ्ख्या बढेपछि चाप नियन्त्रण गर्न कठिन भएको हो ।
गएको भदौ १० मा आएको बाढीले धादिङबेँसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो । यसपछि सदरमुकाम तथा आसपासका क्षेत्रमा जाने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन् ।

