झण्डै दुई महिनापछि म्याग्दीको पाउद्वारमा विद्युत् सेवा नियमित

काठमाण्डौ – मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा झण्डै दुई महिनापछि विद्युत् सेवा नियमित भएको छ ।

गएको असोज ११ गतेदेखि सडक, विद्युत् र घोरेटो बाटोबाट सम्पर्कविच्छेद भएको पाउद्वारमा सडक मर्मत गरी स्थलमार्गबाट ट्रान्सफर्मर ढुवानी गरेर जडान गरेपछि विद्युत् सेवा नियमित सञ्चालनमा आएको हो ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनकाअनुसार गएको असोज ३१ गते बेनीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट सिधै विद्युत् लाइन जोडिएको थियो ।

तर, त्यसबाट गुणस्तरीय विद्युत् आपूर्ति हुन सकेको थिएन । स्थलमार्गबाट ल्याएको ट्रान्सफर्मर जडान गरेपछि विद्युत् आपूर्तिमा देखिएको उतारचढाव हटेको हो ।

पहिरोले अवरुद्ध पदमार्ग र खानेपानी आयोजना स्थानीयवासीन्दाले श्रमदानमार्फत मर्मत गरेका छन् ।

पाउद्वारका छिमेकी बस्ती नेपाने, गिबाङ, किन्दु, झारवाङ र धस्केखोरमा पनि विद्युत् सेवा सञ्चालनमा आएको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले बताउनुभयो । भिरालो पाखामा परम्परागत ढुङ्गे घरहरू गुजुमुज्ज रहेका पाउद्वारमा १७० घरपरिवारको बसोबास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *