काठमाण्डौ – वर्षौंदेखि भारतमा बसोवास गर्दै आएका नेपाली नागरिकले अनेक समस्या झेल्दैआएका छन् ।
आफ्नै देशको नागरिकता बोकेर पनि विदेशी भूमिमा आफ्नो पहिचान लुकाउन बाध्य हुनुपरेको उनीहरुको गुनासो छ । बैंक खाता खोल्नेदेखि सिमकार्ड लिनेसम्मका झन्झट, रोजगारीका नाममा हुने ठगी, शोषण, असुरक्षित यातायात र उपचारका क्रममा आर्थिक संकटजस्ता समस्याले उनीहरूलाई पिरोलिरहेको छ ।
भारतमा लाखौँ नेपाली छन् तर यकिन तथ्याङ्क र अवस्थाबारे अभिलेख छैन । प्रवासी नेपालीले अब पहिचान, सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।
अर्घाखाँची घर भई नयाँदिल्लीमा बस्दै आएका विजय भुसालले भारतमा नेपालीको पहिचान नै प्रमुख समस्या बनेको बताउनुहुन्छ । उहाँकाअनुसार भारतमा नेपाली भएको पहिचान खुलाउँदा हेपिनुपर्ने डरले धेरै नेपालीले आफ्नो वास्तविक परिचय लुकाएर बस्नुपर्ने अवस्था छ ।
पाल्पा घर भई दिल्लीमा बस्दै आएका तेजराम न्यौपाने नेपालबाट भारत पुग्ने धेरै नेपाली म्यानपावर तथा दलालको ठगीमा पर्ने गरेका बताउनुहुन्छ । रोजगारीका लागि भारत आउने नेपालीको सबैभन्दा ठूलो समस्या कागजात र आर्थिक सुरक्षासँग जोडिएको उहाँको भनाइ छ ।
उपचारका लागि भारतमा पुग्ने नेपालीले रकम भुक्तानी र बैंकिङ कारोबारमा समेत समस्या भोग्नुपरेको छ । निश्चित अवधिका लागि अस्थायी बैंक खाता खोल्ने र आवश्यक रकम जम्मा तथा झिक्न सक्ने व्यवस्था गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
नेपाल–भारत आवतजावत गर्ने बस सेवासँग सम्बन्धित पनि समस्या छन् ।
दिल्लीमा बसोवास गर्ने कञ्चनपुरका अर्जुन भण्डारीले भारतमा रहेका नेपालीको वास्तविक सङ्ख्या र अवस्थाको अभिलेख नहुँदा उनीहरूलाई आवश्यक पर्दा सहयोग पुर्याउन कठिन हुने गरेको बताउनुभयो ।

