काठमाण्डाै – दशैँ मनाउन काठमाण्डाै उपत्यकाबाट अहिलेसम्म झन्डै पाँच लाख यात्रु बाहिरिएका छन् । घटस्थापनादेखि हिजाे शनिवार असोज ३१ गतेसम्म सार्वजनिक गाडीमार्फत ४ लाख ९६ हजार ३२३ जना यात्रु बाहिरिएका हुन् ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम चलिरहेकाे छ ।
हिजो/अस्तिको तुलनामा आज बाहिरिने यात्रुको सङ्ख्या घटेको छ । गोङ्गबुमा रहेकाे नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ ।
दशैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन् ।
दशैँ मनाउन यस वर्ष झन्डै १० लाख यात्रु बाहिरिने अनुमान छ ।

