रुसको बढ्दो हवाई आक्रमणबाट जोगिन सङ्घर्ष गरिरहेको युक्रेनलाई ५ सय वटा अत्याधुनिक ’प्याट्रिअट’ क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले स्वीकृति दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार दुई अर्ब १० करोड अमेरिकी डलर बराबरको यो ’पीएसी–३’ इन्टरसेप्टर क्षेप्यास्त्र खरिदको सम्पूर्ण खर्च युरोपेली राष्ट्रहरू र क्यानडाले बेहोर्नेछन् । यसमा अमेरिकी सरकारको रकम प्रयोग हुने छैन । अमेरिकी घोषणाको स्वागत गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बलिस्टिक क्षेप्यास्त्रलाई आकाशमै निस्तेज पार्न प्याट्रिअट प्रणाली नै एकमात्र विकल्प भएको बताउनुभएको छ । तर, यी नयाँ उत्पादित क्षेप्यास्त्रहरू युक्रेन आइपुग्न केही वर्ष लाग्न सक्ने उहाँको भनाइ छ ।
जाडो याम नजिकिँदै गर्दा रुसले युक्रेनका महत्त्वपूर्ण ऊर्जा पूर्वाधार र विद्युत् प्रसारण प्रणालीमा आक्रमण तीव्र पारेकाले युक्रेनले तत्काल क्षेप्यास्त्र आपूर्तिको माग गर्दै आएको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच कूटनीतिक मतभेद चुलिएका बेला यो निर्णय आएको हो ।
यद्यपि, अक्टोबरको ओस्लो वार्तापछि दुई देशबीचको तनाव केही मत्थर भएको मानिएको छ । प्याट्रिअट क्षेप्यास्त्र निर्माणमा लामो समय लाग्ने र अमेरिकाले प्रतिवर्ष झण्डै ६०० वटा मात्र उत्पादन गर्ने भएकाले युक्रेनले यो हतियार तत्कालै प्राप्त गर्ने सम्भावना भने न्यून देखिन्छ ।

