वर्षा र हिमपातले जनजीवन प्रभावित, आज दिउँसोपछि झरी घट्ने

काठमाण्डाै –   बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावले अहिले पनि देशका धेरै ठाउँमा पानी परेको छ । उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । धेरै ठाउँमा अस्ति बिहीबार बेलुकीदेखि नै लगातार झरी परिरहेको हो ।

अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा, सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । वर्षा र हिमपात दिउँसोसम्म निरन्तर रहने त्यसपछि झरी कम हुँदै जाने मौसमविद्ले बताएका छन् ।

आज विशेषगरी मस्याङ्दी, कालीगण्डकी, बुढीगण्डकी, मादी र सेतीनदीमा जलसतह बढ्ने भएकाले ती नदीतटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

मनाङ र लमजुङ जिल्ला आसपास मध्यमदेखि ठूलो वर्षा मापन भएको हुँदा ती क्षेत्र तथा आसपास भई बहने स–साना खोलामा जलसतह बढ्न सक्ने र आकस्मिक बहाव आउन सक्ने भएकाले आज बेलुकासम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पूर्वबाट शुरु भएको वर्षा पश्चिमसम्म पुगेर फेरि पूर्वतर्फ सरेको छ । लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । चिसो बढेको छ । कतिपय किसानले मुख्यबाली धान काट्न र भित्र्याउन सकेका छैनन् ।

मौसम पूर्वानुमान महाशाखाले भोलि आइतबारदेखि अर्नबको प्रभाव कम हुँदै जाने र मौसममा सुधार आउने जनाएको छ । अर्नबको प्रभाव कम भएपनि हल्का वर्षाको सम्भावना कायमै रहने हुँदा ठाउँ विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *