नेपालमा साढे ४७ प्रतिशत जनसंख्यामा मात्रै सुरक्षित खानेपानीको पहुँच

काठमाण्डौ – नेपालमा ९० प्रतिशत जनसंख्याको घर परिसरमै सुधारिएको खानेपानी पुगे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको पानी पाउने जनसंख्या भने साढे ४७ प्रतिशत मात्रै रहेका पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा खानेपानी तथा सरसफाइको अवस्था’ सम्बन्धी प्रतिवेदन अनुसार खानेपानीको पहुँच बढे पनि गुणस्तरमा ठूलो चुनौती देखिएको हो । परीक्षण गरिएका खानेपानीको स्रोतमध्ये ४६ प्रतिशतभन्दा बढी नमुनामा हानिकारक ‘इकोली’ ब्याक्टेरिया भेटिएको छ भने उपभोक्ताले प्रयोग गर्ने अवस्थाको पानीमा यो दर ६१ प्रतिशतभन्दा बढी छ ।

त्यस्तै, ९२ दशमलव ८ प्रतिशत जनसंख्यामा सुधारिएको सरसफाइ सुविधा पुगे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ पाउने परिवार ३९ दशमलव ९ प्रतिशतमात्रै छन् । तथ्याङ्क कार्यालयका निर्देशक विनोदशरण आचार्य पूर्वाधार निर्माणलाई मात्र उपलब्धिको आधार मान्न नसकिने बताउनुहुन्छ ।

खानेपानी र सरसफाइको वास्तविक अवस्था मापन गर्न अब सेवा प्रवाहको गुणस्तरमा समेत ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । प्रतिवेदन अनुसार खुला दिसामुक्त घोषणा गरिएका कतिपय क्षेत्रमा फेरि सो समस्या बढेको पाइएको छ । कार्यालयकी प्रमुख लक्ष्मीकुमारी बस्नेतले तीनै तहका सरकारले गुणस्तरीय सेवा र दिगो व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिवेदनले पुराना खानेपानी संरचनाको नियमित मर्मत, पानी परीक्षण र लैङ्गिक सम्बोधनसहित जोखिममा रहेका स्थानीय तहमा लक्षित लगानी बढाउन सरकारलाई सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *