काठमाण्डाै – ४१५ रुपैयाँको सामान किन्नुभएका धनुषा घर भई ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको उपहार जित्नुभएको छ ।
आज आन्तरिक राजस्व विभागले विजेताको नाम घोषणा गर्दा पण्डितले १० लाख रुपैयाँ जित्नुभएको हो । उहाँले यही कात्तिक ५ गते ललितपुरको धापाखेलमा रहेको बिगमार्टबाट ४१५ रुपैयाँ बराबरको सामान किनेर ई–सेवाबाट भुक्तानी गर्नुभएको थियो ।
अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा कात्तिक १ देखि कात्तिक १५ सम्म १५ जनाका लागि जनही १ लाख ३३ हजार ३४ र पाक्षिक रुपमा १ जनालाई बम्पर उपहार दिने कार्यक्रम अन्तगर्त १० लाख पाउने करदाता घोषणा गरिएको हो ।
१० लाख जित्ने उपभोक्तालाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर बधाई दिनुभयो ।
सरकारले बिलबिजक लिने/दिने संस्कृतिलाई प्रवर्द्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरू गरेको हो ।
१०० रुपैयाँभन्दा धेरैका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था छ ।

