साढे ९ खर्ब रुपैयाँभन्दा धेरैकाे क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरूको संलग्नता रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ ।

गएको बिहीवार ह्याकरहरूले बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् साढे ९ खर्ब रुपैयाँभन्दा धेरै बराबरको डिजिटल मुद्रा चोरी गरेका थिए । यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो चोरी मानिएको छ ।

यही समूह गएको वर्ष क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बाइबिट’ बाट १ खर्ब ५० करोड अमेरिकी डलर अर्थात् २ खर्ब २७ अर्ब रुपैयाँभन्दा धेरै चोरी भएको घटनामा पनि सङ्लग्न रहेको एफबीआईले दाबी गरेको समाचार संस्था एपीले जनाएको छ ।

ब्युरोले क्रिप्टोकरेन्सी एक्सचेन्ज, ब्लकचेन विश्लेषण गर्ने कम्पनीलगायत सम्बन्धित निकायलाई चोरीसँग जोडिएका विभिन्न डिजिटल ठेगानामा हुने कारोबार रोक्न आग्रह गरेको छ । चोरी भएको रकमको स्रोत लुकाउन त्यसलाई विभिन्न माध्यमबाट स्थानान्तरण गरी शुद्धीकरण गर्ने प्रयास हुन सक्ने भन्दै एफबीआईले सतर्कता अपनाउन आग्रह गरेको हो ।

एफबीआईका अनुसार अनुसन्धानका क्रममा ट्रेडरट्रेटरले चोरी भएका डिजिटल सम्पत्तिलाई मुख्यतः इथेरियम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिरहेको पाइएको छ । समूहले अब विकेन्द्रीकृत वित्तीय सेवा (डीएफआई) र तत्काल क्रिप्टोकरेन्सी साट्ने सेवामार्फत ती सम्पत्ति रूपान्तरण गर्ने प्रयास गर्न सक्ने ब्युरोको अनुमान छ ।

ब्लकचेन इन्टेलिजेन्स कम्पनी टीआरएम ल्याब्सका प्रमुख नीति अधिकारी रेडबोर्डले यस घटनालाई इन्टरनेटको गतिमा भएको बैंक लुटपाटको सङ्ज्ञा दिनुभयो । यद्यपि चोरी भएको रकमको कारोबार वास्तविक समयमै निगरानी र पहिचान गर्न सकिने उहाँले बताउनुभयो ।

यसैबीच बाइनान्सले चोरीबाट हराएको डिजिटल सम्पत्तिको ९० प्रतिशत बराबरको रकम भरपाइ गरेकाे जनाएको छ । साथै ग्राहकलाई पूर्ण क्षतिपूर्ति दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *