काठमाण्डौ – सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ वटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ ।
विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारण सभाका अवसरमा नेपाल सरकारले नेपाल पर्वतारोहण सङ्घमार्फत उक्त प्रस्ताव अघि सारेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यस प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ पुग्नेछ ।
काठमाण्डौमा शुक्रबारदेखि शुरु भएको साधारण सभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी रहेका छन् । नेपालले छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन् ।
यी हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति अझ सुदृढ हुनेछ । यसले नयाँ पर्वतारोहण गन्तव्यको पहिचान, आरोहण गतिविधिको विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने छ ।
नेपालले सन् १९८२ र २०११ पछि तेस्रो पटक विश्व पर्वतारोहण तथा आरोहण महासंघको साधारण सभा आयोजना गरेको हो ।

