पूर्वपश्चिम राजमार्ग अन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक निर्माणमा देखिएका अवरोध हटाउन स्थानीय प्रशासनले पहल थालेको छ ।
स्थानीयवासीका माग, निर्माण सामग्रीको अभाव तथा विद्युतका पोल व्यवस्थापनमा देखिएको समस्याका कारण निर्माण कार्य प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय झापाले समाधानका लागि पहल शुरु गरेको हो ।
निर्माणमा देखिएका समस्या पहिचान गरी समाधानको उपाय खोज्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको छ ।
निर्माण कम्पनीका महाप्रबन्धक उज्ज्वल प्रसाईँका अनुसार स्थानीयवासीका माग र निर्माण सामग्रीको उपलब्धतामा देखिएको समस्याले सडक निर्माण प्रभावित भएको छ ।
शुुरुआती डिजाइनमा परिवर्तन गरी सडकलाई व्यवस्थित र यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासीले माग गरेपछि कतिपय स्थानमा निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो ।
आयोजनाका इन्जिनियर आश्रय महतका अनुसार काँकडभिट्टामा शुरुआती डिजाइनमा नभएको ओभरपास निर्माण गर्नुपर्ने, धुलाबारीमा बस स्ट्यान्ड व्यवस्थापन गर्नुपर्ने, चारआलीको ओभरपास क्षेत्रमा देखिएको अवरोध हटाउनुपर्ने तथा विद्यालय क्षेत्रमा ओभरपास निर्माण गर्नुपर्ने मागले काममा समस्या सिर्जना गरेको छ ।
त्यस्तै, विद्युतका पोल स्थानान्तरण तथा निर्माण सामग्रीको स्रोत र नियमित आपूर्तिमा समेत समस्या देखिएको छ । सडक विस्तारका लागि सहरी क्षेत्रमा रहेका विद्युतका पोल समयमै स्थानान्तरण हुन नसक्दा निर्माण कार्य प्रभावित भएको हो ।
कालोपत्रका लागि आवश्यक अस्फाल्ट चिप्स तथा प्रबलित माटोको पर्खाल निर्माणमा प्रयोग हुने ब्याकफिलिङ सामग्रीको स्रोत र नियमित आपूर्तिमा समेत कठिनाइ रहेको आयोजना कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले निर्माण सामग्रीको अभाव हुन नदिन तथा स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न सरोकारवालासँग विभिन्न चरणमा छलफल भइरहेको बताउनुभयो । सडक खण्ड निर्माणका लागि १० अर्ब ६ करोड ९४ लाख ८२ हजार ७१२ रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
आयोजनाका इन्जिनियर महतका अनुसार निर्माण सम्झौताको अवधि सकिन झण्डै तीन महिना बाँकी रहँदा पूर्वी खण्डको भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ

