पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम

कास्की :  पर्यटकीय नगरी पोखराको मुटु मानिने रामघाट क्षेत्र वर्षेनी डुबानको चपेटामा पर्ने गरेको छ। ठूलो र निरन्तर वर्षा भएसँगै निकासको मार्ग साँघुरो हुँदा यो क्षेत्र क्षणभरमै कृत्रिम तालमा परिणत हुने गर्दछ, जसले गर्दा सुन्दर हिमालको दृश्यसँगै स्थानीय बासिन्दाले डुबानको सास्ती भोग्दै आएका छन्।

पोखराको बीचमा रहेको रामघाट क्षेत्र प्राकृतिक रूपमा अत्यन्त सुन्दर र आकर्षक छ। विशेषगरी सफा मौसममा यहाँबाट देखिने हिमश्रृंखलाको दृश्यले पर्यटक र स्थानीय दुवैलाई लोभ्याउने गर्दछ। तर यही क्षेत्र वर्षेनी बाढीको कारण जलमग्न हुनु यहाँको पुरानो समस्या बनेको छ।

प्राविधिकहरूकाअनुसार यस क्षेत्रमा पानीको निकासका लागि बनाइएको तल्लो भागको मुख अत्यन्त साँघुरो छ। भारी वर्षासँगै खोला वा ढलमा आउने बाढीले गर्दा पानीको बहाव थुनिन पुग्छ र सोही स्थानमा ठूलो तालको स्वरूप धारण गर्दछ। पानीको निकास सहज नहुँदा केही समयमै रामघाटको अधिकांश भूभाग डुबानमा पर्छ। स्थानीयवासीहरूकाअनुसार यो समस्या लामो समयदेखि चल्दै आएको छ।

यद्यपि सम्बन्धित निकायले जल निकासको संरचनालाई व्यवस्थित गर्नेतर्फ ठोस कदम नचाल्दा डुबानको जोखिम बढ्दो छ। डुबानका कारण स्थानीय पूर्वाधारमा क्षति पुग्नुका साथै जनजीवनसमेत प्रभावित हुने गरेको छ। बढ्दो शहरीकरण र व्यवस्थित ढल निकास प्रणालीको अभावले गर्दा यो समस्या थप जटिल बन्दै गएको छ। अबको मुख्य आवश्यकता भनेको निकासको मुख फराकिलो बनाउनु र आधुनिक जल व्यवस्थापन प्रणाली अपनाउनु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *