सैनामैना । सैनामैना ब्यापार संघकाे आयोजनामा नेपालीहरूका महान् पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने बताउनुभयो। उहाँले चाडपर्वलाई खुसी साटासाट गर्ने अवसरका रूपमा लिँदै उद्योगी तथा व्यवसायीबीच एकता, सहकार्य र व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, निजी क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्रबहादुर कार्कीले स्थानीय उद्योग तथा व्यापार क्षेत्रको विकासले नगरको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै व्यापार व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तारमा सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा सैनामैना चेम्बर अफ कमर्सका अध्यक्ष देवीदत्त सुवेदीले चाडपर्वले समाजमा आपसी सद्भाव, मेलमिलाप र सकारात्मक सोचको विकास गर्ने बताउँदै सम्पूर्ण उद्योगी, व्यवसायी, सदस्य तथा नगरवासीमा दसैँ, तिहार र छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो। उहाँले व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक वातावरण सुधार तथा स्थानीय व्यापार प्रवर्द्धनका लागि संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, संस्थाका संस्थापक अध्यक्ष, सल्लाहकार, संरक्षक, आजीवन सदस्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले चाडपर्वको शुभकामना व्यक्त गर्दै सामाजिक एकता, आपसी सहयोग र व्यवसायीबीच सहकार्यको आवश्यकतामाथि जोड दिएका थिए।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष भीम सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव गोविन्द पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

