चीनमा पखेटाविहीन उड्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ । मध्य चीनको हुनान प्रान्तमा रहेको चाङ्सा शहरमा उड्ने कारको प्रोटोटाइपले पहिलो पटक सफल उडान गरेको हो ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार विशेष प्रविधिमा आधारित उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ ।
यस प्रविधिमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ । परम्परागत विमानमा जस्तो छुट्टै पखेटा नभएको यो कारलाई व्यक्तिगत हवाई यातायातको नयाँ अवधारणाका रूपमा प्रस्तुत गरिएको छ ।
एक जना यात्रु मात्र बस्न मिल्ने प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलो छ । यसले अधिकतम १२० किलोग्रामसम्म भार बोक्न सक्ने क्षमता राख्छ ।
पखेटाविनै उड्न सक्ने विशेष प्रविधिको प्रयोगले हवाई यातायातको क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको छ । परीक्षण सफल भएसँगै भविष्यमा व्यक्तिगत प्रयोजनका लागि उड्ने कारको विकास र प्रयोगलाई थप सहज बनाउन सकिने अपेक्षा गरिएको छ ।

