मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढ्दै गएको छ । आर्थिक दबाब, सैन्य आक्रमण र रणनीतिक जलमार्गमा देखिएको तनावका कारण यस क्षेत्रमा पुनः युद्ध भड्किने जोखिम बढेको अलजजिराले उल्लेख गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का उपकमाण्डर मेजर जनरल मुस्तफा इजादीले इरानका शत्रुहरूले आर्थिक दबाब बढाएर र नागरिकको विश्वास कमजोर पारेर देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ ।
यसैबीच हर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानी नौसेनाले ती ट्याङ्कर हर्मुज जलमार्गको पूर्वतर्फ रहेको प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।
यद्यपि आगलागीको कारण र घटनाको विस्तृत विवरणबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्षसम्म इरानसँग कुनै सम्झौता हुन नसके इरानमाथिको युद्ध फेरि शुरु गर्ने पक्षमा आफू रहेको संकेत गर्नुभएको छ । उहाँले युद्ध पुनः शुरु गर्ने विषयमा आफू सकारात्मक रहेको अभिव्यक्ति दिनुभएको हो ।

