काठमाण्डौ – सरकारले गोरखा र बाजुराबाट सुत्केरी, गर्भवती र नवजात शिशु गरी तीन जनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ फिलिमबाट दुई जना महिलाको हेलिकप्टरमार्फत उद्धार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । फिलिम स्वास्थ्य चौकीमा सात महिनामै बच्चा जन्माएकी २९ वर्षीया सुन्तली गुरुङलाई थप उपचारका लागि तथा चुमनुब्री–३ देवलकी २३ वर्षीया सुप्रिया गुरुङको सुत्केरी हुने मिति कटिसकेपछि उनलाई पनि हेलिकप्टरबाट काठमाण्डौ पठाएको प्रशासनले जनाएको छ ।
दुवै जनालाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत थापाथलीमा रहेको अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । यस्तै बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालबाट सुत्केरी आमासहित नवजात शिशुको उद्धार गरिएको छ ।
कोल्टी आधारभूत अस्पतालमा सुत्केरी भएकी मुगुको खत्याड गाउँपालिका–९ बस्ने २० वर्षीया देवकी खड्का र नवजात शिशुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो ।
नवजात शिशुको श्वास प्रश्वासमा समस्या देखिएपछि सघन उपचार कक्ष(आइसीयु)मा राखेर उपचार गर्नुपर्ने अवस्था आएकाले सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।

