काठमाण्डाै – मिथिला क्षेत्रमा आज आइतवार कात्तिक ८ गते परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ ।
यसै अवसरमा ऐतिहासिक जानकी मन्दिरमा राम र सीताको ’चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको रतौलीबाट १०८ वटा पाहुर भित्र्याइएकाे छ । बितेको १४२ वर्षदेखि अविच्छिन्न रूपमा चलिआएको यो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि ठाकुर परिवारले पान, मखान, लड्डु, विशेष वस्त्रसहितका कोसेली मन्दिरमा समर्पण गरेको छ ।
मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार पर्वको उल्लास बढाउन यस दिन विशेष भजनकीर्तन र मिथिलाको मौलिक हाँस्यपरिहास कार्यक्रमसमेत आयोजना गरिएको छ ।
धार्मिक अनुष्ठानका साथै यो पर्व मिथिलाका नवविवाहित दम्पतीहरूका लागि विशेष सामाजिक उत्सवका रूपमा मनाइन्छ । यस दिन ससुरालीबाट पाहुर पठाएर ज्येष्ठ महिलाहरूद्वारा बेहुलाको चुमाओन गर्ने र आपसमा खुशी साटासाट गर्ने मौलिक परम्परा रहेको छ ।

