अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा इरानलाई अर्बाैँ डलर उपलब्ध गराएको आरोप लगाउनुभएको छ । यही कारण इरानलाई आणविक हतियार प्राप्त गर्ने दिशामा अघि बढ्ने अवसर मिलेको ट्रम्पले बताउनुभएको बीबीसीले जनाएको छ ।
ट्रम्पले ओबामालाई ‘अक्षम’ राष्ट्रपति भनेर टिप्पणी गर्दै उहाँका नीतिहरूको आलोचना गर्नुभएको छ ।
यसअघि हिजो चुनावीसभाहरूलाई सम्बोधन गर्ने क्रममा पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्प प्रशासनका नीतिहरूको आलोचना गर्नुभएको थियो ।
ओबामाले आफ्नो कार्यकालमा इरानसँग गरिएको आणविक सम्झौता उसलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न प्रभावकारी रहेको दाबी गर्नुभयो ।
यस सम्झौतामार्फत एउटा पनि क्षेप्यास्त्र नछोडी इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा ल्याइएको उहाँको भनाइ छ ।
यसपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ’ट्रुथ सोसल’ मा एक पोस्टमार्फत ओबामा निकै असक्षम राष्ट्रपति रहेका र उहाँले इरानलाई आणविक हतियार विकास गर्न अर्बाैँ डलर दिएको उल्लेख गर्नुभयो ।
अमेरिकामा मध्यावधि चुनाव नजिकिँदै गर्दा रिपब्लिकन र डेमोक्र्याटिक दुवै दलहरू आ–आफ्ना उम्मेदवारहरूका लागि प्रचारप्रसारमा जुटेका छन् । यही बेला ट्रम्प र ओमाबाबीच आरोप–प्रत्यारोप भएको हो । आउँदाे नाेभेम्बर ३ मा मध्यावधि चुनाव हुँदैछ ।

