नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ शुरु

काठमाण्डौ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यमान राजनीतिक तथा आर्थिक संकट, बढ्दो महँगी र जनजीविकाका विषयलाई सम्बोधन गर्न आजदेखि देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शुरु भएको यो अभियान आउँदो मङ्सिर २५ गतेसम्म चल्नेछ ।

अभियानको औपचारिक घोषणा गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा निराशा बढेको आरोप लगाउनुभयो । देशमा महँगी, बेरोजगारी, युवा पलायन र किसानका समस्या चर्कँदै गएको तथा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जोखिम बढेको उहाँको भनाइ छ ।

कम्युनिष्ट आन्दोलन नागरिकबाट टाढिँदै गएको र ’जनमुखीभन्दा नेतामुखी’ बनेको स्वीकार गर्दै प्रचण्डले यसपटक विगतका कमजोरीप्रति खुला आत्मसमीक्षा गरेर अघि बढ्ने बताउनुभयो ।

अभियानका क्रममा केन्द्रीय नेताहरुकै नेतृत्वमा टोल–टोल पुगेर भ्रष्टाचार, कालोबजारी र प्रशासनिक ढिलासुस्तीबारे जनताका गुनासा सङ्कलन गरी सरकारसमक्ष मागपत्र बुझाउने नेकपाले जनाएको छ ।

यस्तै, हालैको बाढीपहिरो विपदमा राज्य संयन्त्रले उद्धार र राहतमा प्रभावकारी तदारुकता देखाउन नसकेको भन्दै पार्टीले आपत्ति जनाएको छ । क्षति पुगेका पूर्वाधारको पुनर्निर्माण र पीडितहरूको तत्काल सुरक्षित पुनर्स्थापना गर्न पनि नेकपाले सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *