शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिए

काठमाण्डौ – शरद् ऋतुमा १८ वटा हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले १८ हिमाल आरोहणका लागि ४७४ पुरुष र १६३ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । आरोहण अनुमतिबापत विभागले २३ करोड ८५ लाख १७ हजार ७९७ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

आरोहण अनुमति लिएका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् ।

विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना, बरुणत्से हिमालका लागि एक टोलीका १० जनाले आरोहण अनुमति लिएका छन् ।

यस्तै, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *