काठमाण्डाै – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाका परिवार तथा आफन्त शव उठाउन तयार भएका छन् ।
सङ्घीय सरकारबाट मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेर परिवार र आफन्तले यसअघि शव उठाउन मानेका थिएनन् ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुर, दुर्घटना अध्ययन तथा छानबिन समिति र मृतकका परिवार तथा आफन्तबीच छलफलपछि शवको पोस्टमार्टम शुरू भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनाबारे अध्ययन समितिको प्रतिवेदनमा पीडित पक्षको माग पनि समावेश गर्ने, कानून बमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारसँग पहल गर्ने र थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने प्रारम्भिक छलफल भएको छ ।
काठमाण्डौबाट सर्लाहीका लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा सडकबाट खसेर दुर्घटना हुँदा चालकसहित १४ जनाको ज्यान गएको थियो ।

