काठमाण्डौ – खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुँदै गएको नेपाल आयल निगमले दाबी गरे पनि उपभोक्ताको सास्ती अझै हट्न सकेको छैन ।
महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता पसल र डिलर धाउन बाध्य छन् । तीन महिनादेखि ग्यास पाउन नसकेको भक्तपुरकी सविना बोहजुले गुनासो गर्नुभएको छ ।
बजारमा ग्यास सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उहाँको भनाइ छ । अर्का उपभोक्ता सुनील दुवालले पनि ग्यासको समस्या भोग्नुपरेको बताउनुभएको छ । ग्यासका लागि पसलमा नाम टिपाएको लामो समय भइसक्दा पनि पाउन नसकेको उहाँको गुनासो छ । पैसा तिर्दा पनि एउटा सिलिन्डर नपाउनु कस्तो अवस्था हो ? उहाँको प्रश्न छ ।
विशेषगरी लामो समयदेखि एउटै सिलिन्डर प्रयोग गर्दै आएका परिवारलाई ग्यास सकिएपछि तत्काल अर्को व्यवस्था गर्न कठिन हुने गरेको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गर्नुभयो । कुनै एउटा कम्पनीको ग्यास नपाएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि ग्यास लिन सक्ने उहाँको भनाइ छ ।
प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् ।

