विशेषज्ञहरूले आधुनिक स्क्यानिङ प्रविधिको प्रयोग गरी वेल्सको तट नजिकै समुद्रमा डुबेको जहाजमा फेला परेको एउटा प्राचीन ताल्चा खोल्न चार अक्षरको कोड पत्ता लगाएका छन् ।
४०० वर्ष पुरानो पित्तलको ताल्चा सन् १९९९ मा पोर्ट टलबोटमा रहेको मार्गम नजिकैको बालुवामा मेटल डिटेक्टर प्रयोगकर्ता पिटर ह्युजले फेला पार्नुभएको थियो ।
यो स्पेनबाट फर्कने क्रममा सन् १५८३ डिसेम्बर २८ मा आँधीबेहरीमा परेको ‘एन फ्रान्सिस’ नामक जहाजको विशाल खजानाको एउटा हिस्सा हो । यस जहाजमा रहेको मालसामान शताब्दीयौँसम्म बालुवामुनि लुकेर रहेको थियो ।
सङ्ग्रहालयका विज्ञहरूले ताल्चाको भित्री संयन्त्रको जाँच गर्न अक्षरहरूको सही संयोजन पत्ता लगाउन र रहस्य सुल्झाउन सीटी स्क्यानिङको प्रयोग गरेका बीबीसीले जनाएको छ ।
वरिष्ठ क्युरेटर एलास्टेयर विलिसले ‘एएनसीई’ शब्द बन्ने कोड फेला पर्नुलाई अविश्वसनीय भन्नुएको छ ।
स्पेनी चाँदीका सिक्काहरू र सिक्का तौलने दुई वटा ढकको नजिक फेला परेको ताल्चाले यी वस्तुहरूको सुरक्षा गरेको हुन सक्ने वा कागजात र कपडाजस्ता बहुमूल्य सामग्रीहरू राखिएको बाकसलाई सुरक्षित पारेको हुन सक्ने अनुमान गरिन्छ । यद्यपि ती सामग्रीहरू भने अहिले अस्तित्वमा नरहेका खबरमा उल्लेख छ ।

