स्वास्थ्य क्षेत्रमा पनि उच्च सतर्कता, पूर्वतयारीमा रहन निर्देशन

काठमाण्डौ – वर्षा र हिमपातको सम्भावनासँगै स्वास्थ्य क्षेत्रलाई पनि उच्च सतर्कतामा राखिएको छ ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गरी पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरेको छ ।

भोलिदेखि १४ गते शनिबारसम्म देशका विभिन्न ठाउँमा हुरीबताससहित मध्यमदेखि मुसलधारे वर्षा हुनसक्ने पूर्वानुमानअनुसार स्वास्थ्य क्षेत्रको तयारीलाई सुदृढ बनाउन निर्देशन दिइएको हो ।

एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा २४ घण्टा सम्पर्कमा रहन एक जना आपत्कालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्ने, फोकल पर्सनको सम्पर्क विवरण एकाइमा उपलब्ध गराउन तथा सार्वजनिक गर्न भनिएको छ ।

त्यसैगरी, सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक टोलीसहित जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि भनिएको छ ।

विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्नुपर्ने पत्रमा उल्लेख छ ।

एकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत् अनिवार्य रूपमा पठाउन पनि सबै प्रदेशका केन्द्रलाई आग्रह गरेको छ ।

सम्भावित विपद्का बेला स्वास्थ्य सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य परिचालन गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *