पिज्जामा भुइँकटहर राख्न नमान्दा इटालियन शेफ कामबाट निकालिए

पिज्जामा भुइँकटहर राख्न अस्वीकार गरेपछि अस्ट्रेलियाको ब्रिसबेनमा रहेको एउटा रेस्टुरेन्टले इटालियन शेफलाई कामबाट निकालेको छ ।

ला कोस्टा रेस्टुरेन्टमा कार्यरत डाभिडे ताम्बुरेलाले पिज्जामा भुइँकटहर राख्दा आफ्नो संस्कृतिको अपमान हुने भन्दै ग्राहकको अर्डर अस्वीकार गरेपछि उनी बर्खास्त भएका बीबीसीले जनाएको छ ।

यो घटनाको गएको मे महिनाको हो । अहिले यो रेस्टुरेन्ट बन्द भइसकेको छ ।

रेस्टुरेन्टको व्यवस्थापन पक्षले ताम्बुरेलाको व्यवहारबारे विभिन्न गुनासालाई लिएर छलफल गरेको दुई हप्तापछि उनलाई कामबाट हटाएको हो । ती गुनासामध्ये एउटा विशेष समारोहमा सहभागी पाहुनाका लागि ह्याम र भुइँकटहर राखिएको पिज्जा बनाउन उनले अस्वीकार गर्नु पनि थियो ।

कामबाट निकालिएपछि ताम्बुरेलाले आफूलाई अन्यायपूर्ण रूपमा बर्खास्त गरिएको भन्दै अस्ट्रेलियाको ‘फेयर वर्क कमिसन’ मा उजुरी दिएका थिए ।

अस्ति मङ्गलवार सार्वजनिक भएको आयोगको निर्णयमा उनले इटालियन भएकै कारण पिज्जामा भुइँकटहर राख्नुलाई आफ्नो संस्कृतिमाथिको अपमान ठानेका उल्लेख छ ।

आयोगका अनुसार ताम्बुरेलाले पछिल्लो चार वर्षमा तेस्रो पटक पिज्जामा भुइँकटहर प्रयोग गर्न अस्वीकार गरेका थिए । उनले रेस्टुरेन्टका प्रबन्ध निर्देशकलाई पिज्जामा भुइँकटहर नराख्नु इटालियनहरूका लागि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बुझिदिन आग्रह गरेका थिए ।

शेफ ताम्बुरेलाले दायर गरेको अन्यायपूर्ण बर्खास्तीसम्बन्धी उजुरी आयोगले खारेज गरेको छ । उनले उजुरी दर्ता गर्न पाउने समयसीमा नाघिसकेपछि निवेदन दिएका आयोगको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *