नागरिकको ज्यान, व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता : सभापति लामिछाने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।

नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि आज उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्त्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकको जीउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ ।’

उहाँले बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य सङ्घले जानकारी गराएलगत्तै आफूले सम्बन्धित सबै निकायलाई तत्काल जानकारी गराएको र आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिएको बताउनुभयो । टोलीले काम अघि बढाइसकेको उल्लेख गर्दै लामिछानेले अबका दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

छलफलका क्रममा सभापति लामिछानेले नारायणी नदीको कटान तथा डुबानबाट बजार क्षेत्रमा परेको जोखिमबारे समयमै जानकारी गराएर अध्ययन टोली परिचालन गर्न सहयोग पुर्‍याएको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनलाई धन्यवाद समेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *