मुग्लिन–नागढुङ्गा सडकको घोप्टेभीरमा डाँडो काट्ने काम चल्दै

काठमाण्डाै – नागढुङ्गा–मुग्लिन सडक खण्डअन्तर्गत मुग्लिन र कुरिनटारबीचको घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन अहिले डाँडो झार्ने काम भइरहेको छ ।

लगातार सुक्खा पहिरो खस्न थालेपछि हिजो दिउँसोदेखि गाडी आवागमन रोकेर यो जोखिमपूर्ण काम थालिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार झन्डै १०० मिटर अग्लो ठाउँमा एक्स्काभेटर पुर्‍याएर डाँडो काट्ने काम भइरहेको छ । यसका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा गाडीको आवागमन बन्द गरिएको छ । डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्स्काभेटरलाई क्रमशः तल झारिने योजना छ ।

सडक बन्द गरिएको समयको सदुपयोग गर्दै घोप्टेभीरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तारको काम पनि सँगै अगाडि बढाइएको छ । त्यहाँ १५० मिटर लामो भागमा झन्डै ३ मिटर सडक चौडा गर्नुपर्नेछ । यस्तै चुम्लिङ्टार र कुरिनटारबीचको डाहाकी खोलामा पनि १०० मिटर क्षेत्रमा सडक २ मिटर चौडा गर्ने काम भइरहेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यो सम्पूर्ण काम पाँच दिनभित्र सक्न निर्माण कम्पनीलाई ताकेता गरिएको जानकारी दिनुभयो ।

गएको एक महिनायता सुक्खा पहिरो खस्दा घोप्टेभीर क्षेत्रमा लगातार समस्या उत्पन्न हुँदै आएको छ । पटक–पटक पहिरो खसेर गाडीहरू रोकिएका छन् भने खसेको ढुङ्गाले लाग्दा एक जनाले ज्यान समेत गुमाइसकेका छन् ।

मुग्लिनबाट काठमाण्डाैतर्फ झन्डै ३ किलोमिटर दूरीमा पर्ने यो मार्ग भएर दैनिक १५ सयभन्दा धेरै गाडी सङ्घीय राजधानी भित्रिने र बाहिरिने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *