उनका अनुसार विपद्मा हालसम्म स्थल तथा हवाई मार्गबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। १ हजार ४५७ जनाको शव फेला परेकोमा १ हजार ३३४ जनाको व्यवस्थापन गरिएको छ भने ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइएको छ।
शव पहिचानका लागि २ हजार ६६ जनाको डीएनए नमुना संकलन गरिएको छ। दशैंअघि नै परीक्षणको नतिजा ल्याउने गरी काम भइरहेको शर्माले बताए। डीएनए मिलानका लागि विदेशी विज्ञको समेत सहयोग लिइरहेको उनको भनाइ छ।
बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुईवटा ऐन संशोधनको प्रक्रिया अघि बढाइएको गृहसचिव शर्माले बताए।
उनले भने, ‘बेपत्ता नागरिकको मृत्यु दर्ता सहज बनाउन सम्बन्धित दुईवटा ऐन संशोधनको प्रक्रिया अघि बढाइएको छ। शव पहिचानका लागि २ हजार ६६ जनाको डीएनए नमुना संकलन गरी परीक्षण तथा मिलानको काम भइरहेको छ।’
राहतका लागि स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन कोषमा हालसम्म करिब १७ करोड रुपैयाँ पठाइएको छ। लाभग्राही पहिचानपछि भुक्तानी हुने भएकाले केही प्राविधिक ढिलाइ भएको शर्माले बताए।
उनका अनुसार राहत तथा घरभाडाका लागि स्थानीय तहमा आवश्यक रकम पठाउने काम भइरहेको छ। थप माग आए आवश्यक रकम उपलब्ध गराइने उनले बताए।
राष्ट्रिय योजना आयोगको ‘र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट’ अनुसार विपद्बाट तत्कालका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ।
सरकारले अब खोज तथा उद्धारसँगै पुनःस्थापना र पुनर्निर्माणलाई अघि बढाएको छ। प्रभावित परिवारलाई घरभाडाबापत प्रतिपरिवार १५ हजारदेखि १९ हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय कार्यान्वयनमा रहेको शर्माले बताए।
उनले क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत मूल्याङ्कन भइरहेको र पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए।
शर्माले भोटेकोशी–त्रिशूली विपद् नेपालले भोगेको अहिलेसम्मकै भयावह र अकल्पनीय क्षतिमध्ये एक भएको बताए। विपद्ले सरकारको पूर्वतयारी क्षमतामाथि समेत प्रश्न उठाएको उनको भनाइ छ।
‘यो अत्यन्तै ठूलो र अभूतपूर्व विपद् थियो। कठिन भौगोलिक अवस्थाका बाबजुद संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न निकायको संयुक्त प्रयासबाट खोज, उद्धार र राहतको काम अघि बढेको छ। आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइनेछ,’ उनले भने।

