पालिका चुनावका लागि उम्मेदवार छान्न रास्वपाको आवेदन खुला

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो पालिका चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि औपचारिक रूपमा आवेदन खुलाएको छ।

पार्टी महामन्त्री एवम् उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने निर्णय गरेको हो ।

इच्छुक आकाङ्क्षीहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आवेदन दिन सक्नेछन् । उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र वैज्ञानिक बनाउन पार्टीले सात वटा विशेष उपसमिति समेत गठन गरेको छ । जसअनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोशिमा कार्कीलाई जिम्मेवारी दिइएको छ ।

पार्टी प्रवक्ता जगदीश खरेलले सार्वजनिक गर्नुभएको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ बमोजिम अब उम्मेदवारहरू केवल नेताको निगाहबाट नभई लिडरशिप एकेडेमीको प्रशिक्षण, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र पार्टी सदस्यहरूको अनलाइन प्रारम्भिक मतदानसहितको चार वटा मुख्य आधारको वैज्ञानिक भाराङ्कका आधारमा छनोट हुनेछन् ।

रास्वपाले आन्तरिक सुशासन र विधिसम्मत पद्धतिको बलमा पालिकालाई परिणाममुखी र जनउत्तरदायी बनाउने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *