काठमाण्डौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट यात्रुहरु बाहिरिनेक्रम बढेको छ ।
आज फूलपातीदेखि सरकारी कार्यालय, विद्यालयसँगै अरु विभिन्न निकायमा पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्नहरु आ–आफ्नो घर फर्कने क्रम थप बढेको छ । यसपाली ९ दिन लामो बिदा छ ।
८ गते आइतबार समेत बिदा हुने भएकाले सरकारी कार्यालय अब पुर्णिमाको दिन कात्तिक ९ गतेदेखि मात्रै खुल्नेछन् । दशैँका लागि यस वर्ष झण्डै १० लाख यात्रु बाहिरिने अनुमान छ ।
काठमाण्डौका नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायतका क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको छ । बालबालिका र झिटीगुन्टासहित घर जान लागेकाहरुलाई दशैँको उल्लास देखिन्छ ।
कोही सार्वजनिक गाडीको टिकट काटेर तथा कतिपय गाडी रिजर्भ गरेर गन्तव्यतर्फ लागेका छन् ।

