काठमाण्डौ – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा रहेको प्रजापति कम्प्लेक्समा शनिबार बिहान भएको आगलागी निभाइएको छ ।
प्रहरी वृत्त थिमिकाअनुसार बिहान झण्डै ८ बजे कम्प्लेक्सको सातौँ तलामा रहेको स्पाबाट आगलागी शुरु भएको थियो । आगलागीको सूचना पाएलगत्तै पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, दमकल र स्थानीयको संयुक्त प्रयासमा बिहान सवा ९ बजेतिर आगो निभाएको प्रहरीले जनाएको छ ।
आगलागी निभाउन लागि जुद्ध बारुण यन्त्र भक्तपुरको र काठमाण्डौ महानगरपालिकाको एक/एक वटा दमकल परिचालन गरिएको थियो । आगो निभाउन स्थानीय बासिन्दासहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए ।
आगलागीबाट सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेश प्रालि’ मा विद्युत् सर्ट भई आगलागी भएको स्पाका सञ्चालक नरेश रन्जितले जानकारी दिनुभयो । आगलागीबाट झण्डै ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

