मिथिलाञ्चलमा सामाचकेवा पर्व शुरु

काठमाण्डौ – दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा शुरु भएको छ ।

कात्तिक शुक्ल पञ्चमीमा शुरु भई १० दिनसम्म मनाइने यो पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ । पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीले सामूहिक रूपमा नाचगान गर्दै दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ ।

सामाचकेवा पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार पर्वको पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भीरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्छन् ।

रातो रङको बाँसको डालामा सामाचकेवा सजाएर दियो बाल्ने र राति गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर नाचगान गर्ने प्रचलन छ । पर्वको एघारौँ दिन बिहानै पुनः सामाचकेवा बनाएर रङ्गरोगन गरिन्छ ।

बेलुका दाजुभाइलाई दहीचिउरा खुवाई परम्पराअनुसार फाँर भर्ने र दाजुभाइबाट सामाचकेवा फुटाइन्छ । त्यसपछि बाजागाजासहित नाचगान गर्दै सामाचकेवाको विसर्जन गरिन्छ ।

मधेस प्रदेशका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्साका साथै सीमावर्ती भारतीय जिल्लामा पनि यो पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *