प्रत्येक १० मिनेटमा एक नेपालीलाई मस्तिष्काघात

काठमाडौँ : प्रत्येक वर्ष ५० हजार नेपाली मस्तिष्काघातबाट पीडित हुने गरेको पाइएको छ।

नेपाल पक्षघात संघका निवर्तमान अध्यक्ष तथा वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. राजु पौडेलका अनुसार  हरेक वर्ष ५० हजार नेपालीलाई मस्तिष्काघात हुने गरेको छ।

यति मात्रै होइन नेपालमा प्रत्येक १० मिनेटमा एक जनामा मस्तिष्काघात हुने गरेको उनको भनाइ छ।

अध्यक्ष पौडेलले भने, ‘मस्तिष्काघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ, मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ, त्यसैलाई मस्तिष्काघात भनिन्छ।’

नेपालमा मस्तिष्काघातको वर्तमान अवस्था र उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम हुदै आएको छ। डा. पौडेल मस्तिष्काघातको उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गरिँदै आएको बताए।

सङ्घले जर्मनीको हाइडलबर्गको युनिभर्सिटी हस्पिटलसँग पक्षघात सहकार्य गर्दै आएको छ। त्यसैगरी, जीआईजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा मस्तिष्काघातसम्बन्धमा काम गर्दै आएको छ।

डा. पौडेल मस्तिष्काघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। ‘विश्वमा हरेक चार जनामा एक जनालाई र तीन सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना हुन्छ, यसबाट सजग हुनुपर्छ’, उनले भने।

विश्वभर प्रत्येक वर्ष मस्तिष्काघातका कारण एक करोड २० लाख मानिस प्रभावित हुँदै आएका छन्। प्रभावितमध्ये ५० प्रतिशतको मस्तिष्काघातका कारण मृत्यु हुने गरेको डा पौडेलले बताए।

नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्काघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ। नेपालमा अहिले मस्तिष्काघात भएकामध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको बताइन्छ।

उनका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए चार घण्टाभित्रै अस्पताल पुग्न सके उपचार सम्भव रहेको डा पौडेल बताउछन। मस्तिष्काघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र  यसका अतिरिक्त बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ।

हरेक मिनेट महत्त्वपूर्ण हुन्छ’ नाराका साथ आज नेपालमा पनि मस्तिष्काघात दिवस मनाइँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *