उत्तर कोरियालीहरूलाई रुसमा जबरजस्ती श्रममा लगाउन भर्ना गरिँदै : प्रतिवेदन

रुसी दलाल सञ्जालले विद्यार्थी भिसाको प्रयोग गरी उत्तर कोरियाली कामदारहरूलाई जबरजस्ती श्रममा लगाउन भर्ना गरिरहेकाे प्रतिवेदन सार्वजनिक भएको छ ।

‘ग्लोबल राइट्स कम्प्लायन्स’ को प्रतिवेदन अनुसार रुसी व्यवसायी भ्लादिमिर सोकोलोभद्वारा सञ्चालित ‘केएनडीआर डट एसयू’ नामक श्रम मध्यस्थता प्लेटफर्मले संयुक्त राष्ट्रसङ्घका प्रतिबन्ध, श्रम कानून छल्नका लागि उत्तर कोरियालीहरूलाई विद्यार्थी भिसामा रुस लैजाने गरेको छ ।

यो प्लेटफर्मले कृषि, निर्माण, उद्योग र सूचना प्रविधि क्षेत्रका सम्भावित रुसी रोजगारदाताहरूसामु उत्तर कोरियाली कामदारहरूलाई प्रस्तुत गर्दछ । यसबापत यस प्लेटफर्मले प्रतिकामदार १ हजार २४० देखि १ हजार ८६० अमेरिकी डलर अर्थात् १ लाख ८८ हजारदेखि २ लाख ८३ हजार रुपैयाँसम्म कमिसन लिने गरेको छ ।

यो राज्यद्वारा प्रायोजित श्रम कार्यक्रमको एक हिस्सा हो जसले उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल विकासका लागि आवश्यक रकम जुटाउन मद्दत गर्ने समाचार संस्था अलजजीराले जनाएको छ ।

यसरी रुस पुर्‍याइएका कामदारहरूले हप्ताको ६ दिन, दिनको १२ घण्टा काम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धका बाबजुद सन् २०२५ मा ३५ हजार ६०० देखि १ लाख १ हजार २८० जना उत्तर कोरियाली कामदार विदेशमा कार्यरत थिए । यसबाट उत्तर काेरियाका लागि अनुमानित ४५ करोडदेखि ८० करोड अमेरिकी डलर जुटेकाे थियाे ।

सन् २०२५ मा रुसले ३६ हजार जनाभन्दा धेरै उत्तर कोरियालीलाई भिसा दिएको थियो जुन अघिल्लो वर्षको तुलनामा चार गुणा धेरै हो । यीमध्ये लगभग सबै भिसा आधिकारिक रूपमा शैक्षिक उद्देश्यका लागि दिइएका थिए ।

सन् २०२२ मा युक्रेनमाथि गरेको पूर्ण–स्तरीय आक्रमणपछि अन्तर्राष्ट्रिय मञ्चमा रुस क्रमशः एक्लिँदै गएको अवस्थामा पछिल्ला वर्षहरूमा उत्तर कोरिया र रुसले विभिन्न क्षेत्रमा हकार्य बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *