काठमाण्डाै – इङ्ग्ल्यान्डले २१ वर्षपछि पहिलाे पटक पाकिस्तानी भूमिमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जीत हासिल गरेको छ ।
त्रिदेशीय शृङ्खलाअन्तर्गत लाहोरमा गएराति भएको खेलमा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५५ रनले हराएको हो ।
इङ्ग्ल्यान्डले दिएको ३८७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ४५ ओभर १ बलमा सबै विकेट गुमाएर ३३१ रन बनायो । श्रीलङ्काका पावन रत्नायकेले ११८, कप्तान कुशल मेन्डिसले ८९ रन बनाए । इङ्ग्ल्यान्डका लियाम डसनले ४ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ५० ओभरमा ५ विकेट गुमाएर ३८६ रन बनाएको थियो । इङ्ग्ल्यान्डका बेन डकेटले १६७, टम बान्टनले ७४ रन बनाए । श्रीलङ्काका असिथा फर्नान्डोले २ विकेट लिए ।
सन् २००५ यता पाकिस्तानमा इङ्ग्ल्यान्डको यो पहिलो जीत हो । पाकिस्तान भ्रमणमा रहेको इङ्ग्ल्यान्डले त्यति बेला एकदिवसीय शृङ्खलाको पाँचौँ खेलमा घरेलु टोलीलाई ६ रनले हराएको थियो ।
त्रिदेशीय श्रीलङ्कामा यसअघिका लगातार तीन खेल हारेको इङ्ग्ल्यान्डको यो सान्त्वना जीत हो । तालिकाको शीर्ष स्थानमा रहेको पाकिस्तान र दोस्रो स्थानमा रहेको श्रीलङ्काले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल भोलि हुनेछ ।

