नरेश चाैधरी, सैनामैना ०४ जेठ । रूपन्देहीको सैनामैना ३ स्थित सुनगाभा सेकेन्डरी स्कुलले विद्यालय तहदेखि नै व्यवस्थित योग शिक्षा सञ्चालनमा ल्याउँदै शैक्षिक क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको छ। अतिरिक्त क्रियाकलापअन्तर्गत सुरु गरिएको योग कक्षालाई विद्यालयले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा व्यवहारिक विकाससँग जोडिएको दीर्घकालीन अभियानका रूपमा अघि बढाएको जनाएको छ।
विद्यालयका अनुसार कक्षा १२ सम्म अध्ययनको व्यवस्था रहेको यस संस्थामा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीहरूको सिकाइ क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य सुदृढीकरण तथा शारीरिक तन्दुरुस्तीलाई प्राथमिकतामा राख्दै नियमित योग अभ्यास सुरु गरिएको हो।
विद्यालयका प्रिन्सिपल तिलब केसीले पछिल्लो समय विद्यार्थीहरूमा बढ्दो मानसिक तनाव, अध्ययनको दबाब, मोबाइल तथा डिजिटल उपकरणप्रतिको अत्यधिक निर्भरता र शारीरिक निष्क्रियतालाई मध्यनजर गर्दै योग शिक्षा आवश्यक बनेको बताउनुभयो। उहाँका अनुसार योग अभ्यासले विद्यार्थीहरूमा अनुशासन, एकाग्रता, आत्मविश्वास, सकारात्मक सोच तथा भावनात्मक सन्तुलन विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
विद्यालयले योगसँगै जिम, नृत्य, संगीत तथा तेक्वान्दोजस्ता अतिरिक्त कक्षाहरू पनि नियमित सञ्चालन गरिरहेको जनाएको छ। यस्ता गतिविधिले विद्यार्थीहरूको प्रतिभा पहिचान, सिर्जनशीलता विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा समग्र व्यक्तित्व निर्माणमा प्रभावकारी भूमिका खेल्ने विद्यालयको भनाइ छ।
नेपालमा पछिल्ला वर्षहरूमा विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक सीप, मानसिक स्वास्थ्य र जीवन उपयोगी शिक्षासँग जोड्ने बहस तीव्र भइरहेका बेला रूपन्देहीस्थित यस विद्यालयको पहललाई शिक्षाविद्हरूले सकारात्मक र उदाहरणीय अभ्यासका रूपमा हेर्न थालेका छन्।
विशेषगरी विद्यालयस्तरमै व्यवस्थित योग शिक्षा सञ्चालन गर्नु लुम्बिनी प्रदेशमै दुर्लभ अभ्यास मानिएको छ। यसले अन्य शैक्षिक संस्थाहरूलाई पनि विद्यार्थीमैत्री, स्वास्थ्यकेन्द्रित तथा व्यवहारिक शिक्षा प्रणाली अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान बनाउन सफल सुनगाभा सेकेन्डरी स्कुलले आधुनिक शिक्षासँग स्वास्थ्य, अनुशासन र संस्कारलाई जोड्दै राष्ट्रियस्तरमै सकारात्मक सन्देश प्रवाह गरेको छ।