बुटवल, ८ पुस । लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत सिटी क्याम्पस बुटवल, रुपन्देहीमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
बुटवल, नयाँगाउँस्थित सिटी क्याम्पसमा बिहीबार आयोजित कार्यक्रममा बीएएलएलबी, बिटिटिएम तथा बिएचटीएम कार्यक्रममा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक संरचना, पाठ्यक्रम, मूल्याङ्कन प्रणाली तथा क्याम्पसको शैक्षिक वातावरणबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. हरिशरण चखुँले विश्वविद्यालयका पहिलो ब्याचका विद्यार्थीहरूले अधिवक्ता परीक्षामा उत्कृष्ट नतिजा ल्याएर विश्वविद्यालयको गरिमा उच्च बनाएको उल्लेख गर्नुभयो । उहाँले नयाँ भर्ना भएका विद्यार्थीहरूले पनि अध्ययनमा अनुशासन र निरन्तरतामार्फत उक्त उपलब्धिलाई कायम राख्ने विश्वास व्यक्त गर्नुभयो ।
कानून विषय समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेलले कानून विषय गहन र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै तह उत्तीर्ण मात्र उपलब्धि नभई व्यावसायिक दक्षता विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले व्यवहारिक सीप र नैतिकताको आधारमा अध्ययनलाई निरन्तरता दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
स्कुल अफ लका निर्देशक बद्रीप्रसाद शर्मा गौतमले स्कूल अफ ल मुलुककै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित भइसकेको बताउनुभयो । बौद्ध दर्शनमा आधारित कानून शिक्षा विश्वमै पहिलो भएको उल्लेख गर्दै उहाँले यहाँ उत्पादन हुने जनशक्तिमा उच्च नैतिकता र जिम्मेवारीबोध रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य डीआर घिमिरे, क्याम्पसका पूर्व प्रमुख डा. फणीन्द्रकुमार न्यौपाने, सिटी क्याम्पसका निमित्त क्याम्पस प्रमुख मोहनलाल भण्डारी तथा एकेडेमिक क्रेडिट बैंकका संयोजक बलबहादुर पाण्डेले मन्तव्य राख्दै क्याम्पसका विद्यार्थीहरूले विभिन्न शैक्षिक कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्दै आएको र आगामी दिनमा पनि यो क्रम निरन्तर रहने शुभकामना व्यक्त गर्नुभयो ।
यसैगरी व्यवस्थापन विभागका प्रमुख डा. श्रीप्रसाद भट्टराईले व्यवस्थापन विषयका शैक्षिक कार्यक्रमबारे जानकारी गराउनुभएको थियो भने उपप्राध्यापक गोपाल उपाध्यायले कानून विषयमा अभिमुखीकरण गर्नुभएको थियो ।
विश्वविद्यालयका एप्लाइड बौद्ध अध्ययन कार्यक्रमका संयोजक जेबी क्षेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अभिमुखीकरण कार्यक्रम नयाँगाउँस्थित नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको हो ।