कञ्चन । रूपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा अवस्थित श्री प्रगति माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय मानकीकरण संगठन (ISO) को प्रमाणपत्र प्राप्त गर्दै सामुदायिक विद्यालयतर्फ गुणस्तरीय शिक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ। विद्यालयले ५० वटा विभिन्न सूचकहरू पूरा गर्दै उक्त उपलब्धि हासिल गरेको हो।
ISO प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले छोटो समयमै उल्लेखनीय शैक्षिक प्रगति गर्दै अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्नु सम्पूर्ण कञ्चनका लागि गौरवको विषय भएको बताए। उनले यस उपलब्धिले कञ्चन मात्र नभई समग्र रुपन्देही जिल्लाको शिक्षामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। साथै, पालिकाले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरूलाई नियमित रूपमा विषयगत तथा सीपमूलक तालिम प्रदान गर्दै आएको जानकारी दिए।
कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले प्रगति माविले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप गुणस्तरीय शिक्षा कायम राख्ने थप जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरिन्। आफू पूर्व शिक्षकसमेत रहेको विद्यालयको यस्तो उपलब्धिले गर्वान्वित बनाएको उनले बताइन्।
यसैक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चन क्षेत्रका सामुदायिक विद्यालयमध्ये प्रगति मावि र संस्थागत विद्यालयतर्फ मोर्डन भिजन एकेडेमीले ISO प्रमाणपत्र प्राप्त गर्नु समग्र क्षेत्रकै उपलब्धि भएको बताए। उनले प्रमाणपत्र प्राप्तिपछि विद्यालयले गुणस्तरलाई निरन्तरता दिन अझ बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
ISO नेपालका प्रतिनिधि सुदिप शर्माका अनुसार, सबै सूचकहरू पूरा गर्दै छोटो अवधिमै ISO प्रमाणपत्र प्राप्त गर्ने नेपालकै दोस्रो विद्यालयको रूपमा प्रगति मावि स्थापित भएको छ। उनले प्रमाणपत्रलाई दीगो रूपमा कायम राख्न ISO का मापदण्डहरूको पूर्ण पालना अनिवार्य हुने स्पष्ट पारे।
विद्यालयका प्रधानाध्यापक गणेश पौडेलले विद्यालयलाई ISO प्रमाणित संस्थाको रूपमा स्थापित गर्न सहयोग पुर्याउने शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवालाप्रति आभार व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पौडेलले अब प्रगति मावि नाममै सीमित नभई व्यवहार र कार्यसम्पादनमा समेत उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित भएको बताए।
सहायक प्रधानाध्यापक सरोज भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नं. १ का अध्यक्ष हरिनारायण थारु, कार्यपालिका सदस्य चित्रलाल तुलाचन लगायतले शुभकामना व्यक्त गरेका थिए।
करिब १,७०० भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा स्काउटसम्बन्धी प्रस्तुति समेत प्रदर्शन गरेका थिए।
यस उपलब्धिले नेपालका सामुदायिक विद्यालयहरू पनि अन्तर्राष्ट्रिय गुणस्तर हासिल गर्न सक्षम छन् भन्ने सन्देश दिएको शिक्षा क्षेत्रका सरोकारवालाहरूको भनाइ छ।