काठमाण्डौ – सोलुखुम्बुमा दुई वटा हेलिकोप्टर ठोक्किएका छन् । एक जना पर्यटकको ज्यान गएको छ ।
सोलुखुम्बुको फेरुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी पर्यटकको ज्यान गएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पंखा ठोक्किएको जानकारी आएको र थप बुझ्ने प्रयास भइरहेको जनाएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ८ बजेर ११ मिनेटमा दुर्घटना भएको हो । ज्यान गुमाएका पर्यटकको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घाइतेलाई उद्धार गरी उपचारका लागि लुक्ला अस्पताल पुर्याइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङकाअनुसार घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला लगिएको हो ।
घाइतेको अवस्था र दुर्घटनामा परेको हेलिकप्टरमा रहेका अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण खुल्न बाँकी नै छ ।

