डा‍. गोविन्द केसीलाई सरकारले भन्यो : अनशन स्थगित गर्नुस्, माग सम्बोधन गर्न प्रतिबद्ध छौँ

काठमाडौँ : सरकारले अनशनरत प्राडा गोविन्द केसीको उठाएका माग पूरा गर्न प्रतिबद्ध रहेको जनाएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति नै निकालेर डा. केसीले उठाएका माग पूरा गर्न सरकार तयार रहेको हुँदा अनशन स्थगित गर्न आग्रह समेत गरेको छ।

उसले विगतमा भएको सहमति र डा. केसीले उठाएको छ बुँदे मागको बुँदागत रूपमा जवाफ दिँदै मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रमा सुधार, सेवा प्रभावकारिता तथा सुशासन अभिवृद्धिका लागि विभिन्न काम अघि बढाएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा केसीले राखेका मागका बुँदा अनुसार नै के कति प्रगति भएको छ भन्ने कुरा समेत उल्लेख छ।

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सिट वृद्धि जथाभावी बढाएको भन्ने केसीको मागमा  चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदनका आधारमा आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानूनी मापदण्ड पूरा गरेर कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङलगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको छ। साथै आयोगको प्रतिवेदन र स्वीकृत मापदण्डको अधीनमा रही सरकारी कलेजहरूमा सिट वृद्धि गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै आयोगको पदाधिकारीलाई हटाउनु पर्ने मागमा केसीकै मागअनुसार सम्बन्धित पदाधिकारीहरूको छानबिन मन्त्रालयबाट हुने मन्त्रालयले जनाएको छ।

सरकारी स्तरमा नयाँ मेडिकल शिक्षा संस्था स्थापना गर्नु पर्ने मागमा भने मन्त्रालयले सुर्खेत, बुटवल र बर्दिबासमा मेडिकल शिक्षा संस्था स्थापनाको कार्य भइरहेको र यसका लागि थप बजेट व्यवस्थापनको प्रक्रिया अघि बढाइएको  र  सबै प्रदेशमा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।

इलाम पुगेर १२ कात्तिकबाट अनसन शुरु गरेका डा केसीको स्वास्थ्य बिग्रिएपछि सोमबार ‘हेली रेस्क्यु’ गर्दै काठमाडौँ ल्याइएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। २५ औँ अनशन बसेका डा. केसीको अनशनको छैटौँ दिन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *