३६ जिल्लामा देखियो जापानी इन्सेफलाइटिस : १२१ जनामा देखिँदा २६ को मृत्यु

काठमाडौँ : जापानी इन्सेफलाइटिस (जेई) मृत्यु हुनेको संख्या २६ पुगेको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ७ वटै प्रदेशका ३६ जिल्लामा जापानी इन्सेफलाइटिसका १२१ वटा केस पुष्टि भइसकेका छन् भने सङ्क्रमणका कारण २६ जनाको मृत्यु भइसकेको छ।

महाशाखाका अनुसार हालसम्म एक हजार २२६ जनामा जेईको लक्षण देखिएको छ।

पछिल्लो ३ दिनमा मात्रै जेईका थप ४ वटा नयाँ केस थपिएका छन् भने रोल्पा र तनहुँमा गरी २ जनाको मृत्यु भएको छ। हाल ५६ जना सङ्क्रमितहरू विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

खोप नलगाएकाहरू उच्च जोखिममा

महाशाखाको खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार सङ्क्रमितहरूमध्ये ८५ प्रतिशत र मृत्यु भएका शतप्रतिशत व्यक्तिहरूले जेईविरुद्धको खोप नलगाएको पाइएको छ। मृत्यु हुनेहरूमा ७७ प्रतिशत ५० वर्षभन्दा माथिका उमेर समूहका रहेका छन्।

‘जेईको संक्रमणबाट मृत्यु हुनेले खोप नलगाएको पाइएको छ भने मृत्यु हुने पनि धेरै ५० वर्ष भन्दा माथिको उमेर समूहको हुनुहुन्छ ’, डा गौतमले भने।

ज्यान गुमाउने धेरै कोशी प्रदेशका

तथ्याङ्क अनुसार सबैभन्दा बढी मृत्यु कोशी प्रदेशमा १० जनाको भएको छ भने लुम्बिनी प्रदेशमा ५ जना, मधेश प्रदेशमा ६ जना, सुदूरपश्चिममा ३ जना तथा बागमती र गण्डकी प्रदेशमा १-१ जनाको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरूले झिँगा, लामखुट्टेको टोकाइबाट बच्न, घरवरपर सरसफाइ राख्न र खोप लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

 कृषकहरू बढी प्रभावित

नेपालको पूर्वी भागबाट शुरु भएको यो रोग बिस्तारै पश्चिमी क्षेत्रतर्फ फैलिरहेको छ। कुल सङ्क्रमितमध्ये ८५ प्रतिशत तराईका जिल्लाहरूमा फेला परेका छन्।

सङ्क्रमितमध्ये ५३ प्रतिशतको मुख्य पेशा कृषि रहेको छ। धान खेत र सुँगुर वा बङ्गुरपालन क्षेत्र वरपर बसोबास गर्ने मानिसहरूमा यो रोगको जोखिम बढी देखिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकामा यो रोगको प्रकोप नै घोषणा गरिएको छ।

अधिकाशं जेइ सङ्क्रमित धानबारी तथा सुँगुर फार्मको आसपास बसोबास गर्ने गरेका छन्। सङ्क्रमितमध्ये ६२ प्रतिशतको मुख्य पेशा कृषि रहेको पाइएको छ।

जेइ लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको मष्तिष्कमा सङ्क्रमण हुने गम्भीर रोग हो। यो भाइरसबाट सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगुरजस्ता पशुपक्षीलाई लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्छ।

यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *