काठमाडौँ : रसुवा भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको पठनपाठन सञ्चालन हुन थालेको छ। क्षति पुगेका विद्यालय मर्मत र पूर्ण क्षति भएको हकमा अस्थायी संरचना बनाएर पढाउन थालिएको हो।
नुवाकोटको विदुर नगरपालिकाका अनुसार असोज १ गतेबाट बाढी प्रभावित विद्यार्थीहरूको पठनपाठन सुरु भएको छ। नगरपालिकाको शिक्षा शाखाका विद्यालय निरीक्षक नबराज सापकोटाले अस्थायी संरचना बनाएर पढाउन थालिएको जानकारी दिए।
उनले भने, ‘बाढीबाट प्रभावित विद्यार्थीहरूको पठनपाठन असोज १ गतेबाट सुरु भएको छ, आंशिक क्षति भएका विद्यालय मर्मत गरेर र बाढीले बगाएको विद्यालय क्षेत्रमा भने अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाएर पढाउन थालिएको छ। अहिले यो क्षेत्रमा कोही प्रभावित विद्यार्थीहरु पढ्नबाट वञ्चित छैनन्, मनोसामाजिक परामर्श पनि प्रदान गरिरहेका छाैँ।’
उनका अनुसार बाढीले उक्त नगरपालिकामा करिब तीन हजार पाँच सय विद्यार्थी पठनपाठनबाट प्रभावित भएका थिए।
रसुवाको उत्तरगय गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकले पनि भदौ २४ गतेबाट पठनपाठन थालिएको जानकारी दिए। उनले भने, ‘यहाँका १ वटा बाहेक अन्य सबै विद्यालयमा भदौ २४ गतेदेखि पठनपाठन सुरु भएको छ तर विद्यार्थीहरुकाे भने न्यून उपस्थिति छ।’
उनका अनुसार गणेश आधारभूत विद्यालयमा होल्डिङ सेन्टर तोकिएकाले यसबारे के कसरी सञ्चालन गर्ने भन्ने छलफल भइरहेको छ। ‘अन्य विद्यालयमा पढाइ सुरु भएको छ, पूर्ण रूपमा विद्यालय बगाएकोमा त भूगोल/बस्ती नै छैन, त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा सिफ्ट गरेर पढाइरहेका छौँ’, उनले भने।
उनका अनुसार गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालय र १ वटा निजी विद्यालय सञ्चालनमा थिए तरबाढीले २ वटा सामुदायिक र १ वटा निजी विद्यालय बाढीले बगायो। प्रारम्भिक तथ्यांकअनुसार १३४ विद्यार्थी सम्पर्कविहीन छन्। १० जना शिक्षकलाई बाढीले बगाएको छ।
११७ जना बालबालिका अभिभावकविहीन भएका छन। ‘अभिभावक गुमाएका बालबालिकाहरूलाई कोही आफन्तले काठमाडौँ लगेर त कोहीले यहीका अन्य स्कुलमा लगेर पढाउन थालेकाे जानकारी आएको छ, हामीले यसबारे समन्वय गरिरहेका छौँ, अन्य थप यकिन विवरण बुझ्न, विवरण टिप्नका लागि भोलि सम्पर्क कार्यालय पनि खोल्दै छौँ’, उनले भने।
बाढीबाट प्रभावित विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श पनि दिइरहेको उनले जानकारी दिए। भदौ १० गते बिहानै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो धनजनसँगै विद्यालय बगाएको छ। कतिपय विद्यार्थी पनि अझै सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख बराबरको हानि भएको छ।
प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन (आरडिएनए) प्रतिवेदनले १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएको देखाएको छ। जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रूपमा क्षति पुगेको छ। स्थानीय तहअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका दुईवटा भवनका ११ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
प्रतिवेदनअनुसार रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका तीनवटा विद्यालयका ६ वटा भवनमा ३६ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। नुवाकोटको विदुर नगरपालिकामा रहेका नौवटा विद्यालय प्रभावित भएका छन्। विद्यालयमा ३२ वटा भवनमा क्षति पुगेकामा ६१ वटा कोठा आंशिक र ८९ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
धादिङको गल्छी गाउँपालिकाका तीनवटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये १० वटा भवनका ७७ वटा कोठा आंशिक र आठवटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सोही जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका दुईवटा भवनका १२ वटा कोठा पूर्ण रूपमा क्षति भएका छन्।
सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय चारवटा भवनका १४ वटा कोठामा आंशिक क्षति पुगेको थियो। बाढीबाट २८ जना शिक्षक र पाँच सयभन्दा बढी विद्यार्थी सम्पर्क विहीन भएका छन्। बाढीले १२० बालबालिका अभिभावकविहीन नै भएका छन्। बाढीले विद्यालय पूर्ण रूपमा क्षति हुँदा यी विद्यालयका १० हजारभन्दा बढी विद्यार्थी पढाइबाट प्रभावित भएका थिए।
अहिले भने बाढीबाट प्रभावित उनीहरु सबैलाई शिक्षाको पहुँचमा ल्याइ सकिएको शिक्षा मन्त्रालयको शिक्षा विभागले जनाएको छ। विभागका अनुसार सम्बन्धित स्थानीय तहले अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाएर पठनपाठन सुचारु गरिसकिएको छ।
कामपाले पढाउँदै १३२ बालबालिका
काठमाडौँ महानगरपालिकाले बाढीबाट विस्थापित भएर काठमाडौँमा रहेका १३२ जना बालबालिकाका लागि पठनपाठनकाे व्यवस्था गरेको छ। नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कूलमा अध्ययन गराउन थालेको छ।महानगरपालिकाले विद्यार्थीहरुलाई पुस्तक र दिवा खाजा उपलब्ध गराएको छ।
महानगरपालिका शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीका अनुसार यसरी विद्यालय जाने विद्यार्थीहरूका लागि करुणा फाउन्डेशनले विद्यालय पोशाक, झोला, जुत्ता, कापी कलमको व्यवस्था गरिदिएको छ। यसैगरी मनोसामाजिक परामर्श प्रदान गरेको छ।
आश्रय स्थलबाट विद्यालयसम्म ल्याउन पुर्याउन एलआरआइ स्कूलले सवारी साधन उपलब्ध गराएको उनले जानकारी दिए। उनका अनुसार इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु महानगरपालिकाको सम्पर्कमा रहेका छन्। उनीहरूमध्ये सबैभन्दा धेरै कक्षा १ मा अध्ययन गर्ने ४५ जना छन्।
इसीडी, नर्सरी र कक्षा १० मा अध्ययन गर्ने २/२ जना छन। नर्सरी, युकेजी र कक्षा १२ मा अध्ययरत १/१ जना छन्। कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६/६ जना रहेका छन्। कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी रहेका छन्।

