काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को दीक्षान्त समारोह अब सातवटै प्रदेशमा हुने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले हिजो (बिहीबार) सूचना नै जारी गर्दै सबै प्रदेशमा फरक-फरक समयमा दीक्षान्त आयोजना हुने जानकारी दिएको हाे।
त्रिवि पनिकाले ५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन अनलाइन आवेदन फारामसमेत खुलाइसकेको छ। त्रिवि परीक्षा नियन्त्रक प्राडा लक्ष्मण पौडेलका अनुसार त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने ५२ औं दीक्षान्त समारोह बागमती प्रदेश केन्द्र (एमफिल, पिएचडी तथा टपर र मेडल प्राप्त गर्नेहरूका लागि समेत),कोशी प्रदेश केन्द्र,मधेश प्रदेश केन्द्रमा हुनेछ।
यसैगरी गण्डकी प्रदेश केन्द्र, लुम्बिनी प्रदेश केन्द्र‚ कर्णाली प्रदेश केन्द्र र सुदूरपश्चिम प्रदेश केन्द्रमा दीक्षान्त समारोह हुनेछ।
सूचनामा भनिएको छ, ‘दीक्षान्तमा सहभागी हुन २०८२ साल असार १ गतेदेखि २०८३ साल जेठ ३१ गतेसम्म सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्ने विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्को निर्णयानुसार देहायअनुसारको केन्द्रमा फरक फरक मितिमा हुने ५२ औं दीक्षान्त समारोहमा सहभागी हुनका लागि परीक्षा नियन्त्रण कार्यालयले उपलव्ध गराइएको अनलाइन एप्लिकेसन पोर्टलमा भर्नू।’
आफैले केन्द्र छनोट गर्न पाउने
आवेदक आफैले केन्द्र छनोट गर्न पाउने व्यवस्था गरिएको छ। तर, एकपटक केन्द्र छनोट भएपश्चात् दीक्षान्त समारोह केन्द्र परिवर्तन गर्न पाइनेछैन। त्यसैले त्रिविले आफू सहभागी हुन सक्ने केन्द्र निश्चित भएर मात्र छनोट गर्न हुन सुचित गरेको छ।
‘एकपटक केन्द्र छनोट भएपश्चात् दीक्षान्त समारोह केन्द्र परिवर्तन गर्न पाइनेछैन,आफू सहभागी हुन चाहेको उल्लेखितमध्ये कुनै एक दीक्षान्त केन्द्र छनौट गर्नुपर्नेछ’, सूचनामा उल्लेख छ।
यी तह उत्तीर्ण गरी ट्रान्सकृष्ट लिइसकेका इच्छुक विद्यार्थीहरूले यही असोज १ गतेदेखि २०८३ साल कार्तिक १२ गतेसम्म अनलाइन आवेदन दिन त्रिविले आग्रह गरेको छ। त्रिविले दीक्षान्तसम्बन्धी विस्तृत कार्यक्रम र स्थान पछि प्रकाशित गर्ने जनाएको छ।
विद्यार्थीहरूको माग पूरा
देशकै ठूलो र पुरानो विश्वविद्यालयको वर्षेनि दीक्षान्त व्यवस्थित नहुँदा विद्यार्थीहरूले विभिन्न सास्ती खेप्न बाध्य भएको भन्दै व्यवस्थित गर्न माग गर्दै आएका थिए। बाहिर गेटबाट भित्र छिर्ने लाइनदेखि प्रमाणपत्र लिने वेलासम्म घण्टौँ विद्यार्थीहरू लाइनमा उभिन बाध्य भएका थिए।
यही कारण पनि यसको मोडल परिवर्तन गर्नुपर्ने माग यसअघि नै बारम्बार उठ्दै आएको थियो। स्ववियुका विद्यार्थी नेताहरूले त्रिवि दीक्षान्त व्यवस्थित गर्ने त्रिविले योजना नल्याए दीक्षान्त समारोह बहिष्कार गर्नेसमेत चेतावनी दिएका थिए। अब भने ७ प्रदेशमै दीक्षान्त हुने भएसँगै विद्यार्थीहरूकै माग पूरा भएको छ।
यसले विद्यार्थीहरूलाई सहज हुने त्रिविले अपेक्षा लिएको छ। त्रिविका अनुसार यो दीक्षान्तमा स्नातक तहको तीन हजार, गाउन स्कार्फ धरौटी रकम २५ सय, स्नातकोत्तर तथा एमफिलको तीन हजार पाँच सय, गाउन स्कार्फ धरौटी रकम दुई हजार पाँच सय लाग्नेछ। यसैगरी पिएचडीका लागि चार हजार, गाउन स्कार्फ धरौटी रकम दुई हजार पाँच सय लाग्ने त्रिविले जनाएको छ।

