काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक ‘वन्दे भारत’ रेल सेवा चलाउन माग गरेकी छन्।
शुक्रवार राष्ट्रियसभाको बैठकमा बोल्दै अर्यालले यस्तो माग गरेकी हुन्। यसबाट जनकपुर र अयोध्याबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै दिल्लीबाट नेपाल आउने पर्यटक तथा तीर्थयात्रीलाई समेत सहज हुने उनको भनाइ छ।
भारत सरकार पनि रेल सेवा सञ्चालन गर्न उत्सुक रहेको आफूले पाएको बताइन्। सांसद अर्यालले देशका सबै श्रमशक्तिलाई उत्पादनमूलक रोजगारी उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। उच्च गतिमा पुँजी निर्माण गर्ने नीति तथा कार्यक्रम आवश्यक रहेको उनले बताइन्।
उनले मधेशको विकासका लागि संघ, प्रदेश र स्थानीय तह सबै सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउँदै विकासका कामलाई शीघ्र र द्रुत गतिमा अघि बढाउन आग्रह गरिन्।
अर्यालले भनिन्, ‘जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक वन्दे भारत रेल सेवा सञ्चालनका लागि पहल गर्नुपर्छ। यसले जनकपुर र अयोध्याबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्दै धार्मिक पर्यटन र आवागमनलाई सहज बनाउनेछ।’
उनले मधेशको समग्र विकासका लागि आफूले उठाएका मागलाई संघीय सरकारसँगै प्रदेश तथा स्थानीय सरकारहरूले समेत प्राथमिकतामा राख्नुपर्ने बताइन्।

