काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमान्ने इतर समूहका चार जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ।
पार्टीका प्रवक्ता गुरुराज घिमिरेका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो। जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहेको उनले बताए। उनीहरुले महाधिवेशनमा सहभागी नहुने बताएपछि सहमतिमै जिम्मेरीबाट अलग राखेर महाधिवेशन प्रकेया शुरु गर्न उपसभापतिहरुलाई जिम्मेवारी दिएको छ।
कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई दिइएको छ। त्यसैगरी मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी खोसेर तारानाथ पौडेललाई सुम्पिइएको छ।
जिम्मेवारी खोसिए पनि कञ्चनपुरका सभापति बोगटीले पार्टीको महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न अपिल गरेका छन्। आज एक विज्ञप्ति प्रकाशित गर्दै उनले अदालतको फैसला नआउन्जेल महाधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरेका हुन्।

